परिचय

नेपालको संविधान, २०७२ ले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने हकलाई सुनिश्चित गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको छ। यसै सन्दर्भमा, संवैधानिक अधिकारको प्रयोग गर्दै गण्डकी प्रदेश सभाद्वारा पारित गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० तथा गण्डकी प्रदेश आम सञ्चार नियमावली, २०८२ को कानुनी धरातलमा टेकेर प्रेस रजिष्ट्रारको कार्यालय स्थापना भएको हो।

पोखरामा अवस्थित यो कार्यालय गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने एक स्वायत्त नियामक तथा प्रवर्द्धनात्मक निकाय हो। विचार र अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्दै सञ्चार माध्यमहरूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउनु यस कार्यालयको प्रमुख ध्येय हो।

यस कार्यालयले प्रदेशभित्र सञ्चालन हुने सञ्चार माध्यमहरूको दर्ता, नवीकरण, अनुगमन र नियमनको कार्य सम्पादन गर्दछ। विशेषतः १०० वाटभन्दा माथि १००० वाटसम्म क्षमता भएका एफ.एम. रेडियो, केबलमा आधारित टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरूको व्यवस्थापन गर्ने क्षेत्राधिकार यस कार्यालयमा निहित छ।

नियामक भूमिकाका अलावा, यस कार्यालयले प्रदेशभित्रका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई सञ्चार माध्यममार्फत उजागर गर्न, मौलिक भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवं संवर्धन गर्न तथा प्रदेश सरकारका विकास निर्माण र असल अभ्यासहरूलाई जनसमक्ष पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

साथै, श्रमजीवी पत्रकार, सञ्चारकर्मी, प्राविधिक र व्यवस्थापकहरूको पेसागत क्षमता अभिवृद्धि, वृत्ति विकास र पेसागत सुरक्षाको प्रत्याभूति गराउनु पनि यस कार्यालयको परिचयभित्र पर्दछ। सुशासन, पारदर्शिता र विधिको शासनलाई मूलमन्त्र मान्दै प्रविधिमैत्री सेवा प्रवाह मार्फत सञ्चार क्षेत्रबाट योगदान पुर्‍याउनु नै यस कार्यालयको सार हो।